विश्व

भारत विश्वकै तेस्रो कोरोना सङ्क्रमित मुलुक


      २०७७ असार २२, सोमबार ०८:०८

नयाँ दिल्ली : तीव्र गतिमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ ।

भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढेको थियो । हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या करिब ६ लाख ९० हजार पुगेको छ ।

आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए । भारतभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ हजार पुगेको छ ।

विज्ञहरूले भारतमा सङ्क्रमणको यथार्थ चित्र अझै थाहा नभएको बताएका छन् । अधिकारीहरूले सङ्क्रमण रोक्न विभिन्न प्रयत्न गरिरहेका छन्। दिल्लीमा ठूलो भाइरस स्याहार केन्द्र खोलिएको छ ।

देशभरिमा सबैभन्दा प्रभावित मध्येको दिल्लीमा १० हजार शैय्याको उक्त स्याहार केन्द्रमा सामान्य लक्षण देखिएका वा लक्षण नदेखिएका तर सङ्क्रमण पुष्टि भएकाहरूलाई उपचार गरिने छ ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार झन्डै बीसवटा फुटबल मैदानजत्रो उक्त केन्द्र विश्वकै सबभन्दा ठूलो कोरोनाभाइरस केन्द्र हो ।

भाइरस सङ्क्रमण फैलँदै गर्दा भारतको एक प्रमुख पर्यटन आकर्षण ताज महल आगन्तुकका निम्ति सोमबारदेखि खुला गर्ने योजना पनि अहिलेलाई स्थगित गरिएको छ । भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ ।

त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ । दक्षिणी तमिलनाडुमा तथा दिल्लीमा सङ्क्रमितको सङ्ख्या एक लाख हाराहारीमा छन् ।

धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु