#

राजकुमार जोगी आज मृत भेटिए


चारआली जङ्गलको राजमार्ग छेउको अनकण्टार चौतारोमा बस्दै आएका अन्दाजी ४५ वर्षका राजकुमार जोगी आज मृत भेटिएका छन् ।बस्ने डेरा र पेट भर्ने खानेकुरा नपाएर लकडाउनका बेला पत्नी मीना खड्कासँगै पाउँपाथिभरा मन्दिर नजिकको राजमार्गकै कल्भर्टमुनि बसेको बेला राजकुमारको दयनीय अवस्था पहिलोपल्ट मिडियामा सार्वजनिक भएको थियो ।

आज विहान सुतेकै ठाउँमा जङ्गलको एकलास चौतारोमा उनी मृत भेटिए । सँगै सुतेकी पत्नी मीनाले बेलुकी दुबैजना सँगै सुतेको तर विहान उठ्दा राजकुमारलाई प्राण गइसकेको अवस्थामा पाएको बताएकी छन् ।

मागेर गुजारा गर्दै आएका उनीहरु कोरोना महामारी सुरु भएपछि भोकसँग जुधिरहेका थिए । कसैले दिएको र मागेर ल्याएको खानेकुरा खाएर उनीहरु पेट भर्थे ।

पत्रकार खगेन्द्र घिमिरे, सामाजिक अभियन्ता नरेश महरा, कविन्द्र श्रेष्ठलगायतले लामो समयसम्म उनीहरुलाई कल्भर्टमुनि बसेको बेला खानेकुराको व्यवस्था मिलाइदिएका थिए ।

स्थानीयवासीका अनुसार राजकुमार केही वर्षअघिसम्म फेरी लगाउने जोगीको पेशा गर्थे । उनले आफ्नो पुख्र्यौली घर भोजपुर भएको बताउँथे । चैततिर उनले पाउँपाथिभरा मन्दिर परिसरमा मागी हिँड्ने मीना खड्कासँग विहे गरेका थिए ।

टिभी र जण्डिसका विरामी

असहाय अवस्थाका राजकुमार टीबी र जण्डिसका विरामी थिए । उनले रोगको उपचार समेत पाएका थिएनन् ।

इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार टीबी र जण्डिसका विरामी राजकुमारको मागेर ल्याएको पैसाले मदिरा पिउने बानी थियो ।

सोमवार बेलुका समेत मदिरा पिएर सुतेका राजकुमार विहान उनकी पत्नी मीनाले झक्झक्याउँदा नउठेपछि मात्र उनको मृत्यु भइसकेको थाहा भएको प्रहरी निरीक्षक चौधरीले बताए ।

मृतकको पोष्टमार्टम जाँचका लागि शबलाई मेची अस्पताल लगिएको उनले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु