#

अनुदानको रकम पहुँचवाला ठूला किसानले मात्रै


सरकारले कृषकका लागि प्रदान गर्दै आएको अनुदानको रकम पहुँचवाला ठूला किसानले मात्रै हात पार्ने गरेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको कृषि विकासका क्षेत्रमा प्रदान गरिने अनुदानको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनले पहुँच हुने किसानले मात्रै अनुदान पाएको जनाएसँगै अनुदानको रकम पहुँचवालाका हातमा मात्रै पर्ने गरेको खुलेको हो । संघीयदेखि स्थानीय तहसम्मका तीनबटै सरकारले पहुँचवाला ठूला किसानलाई मात्रै अनुदानको रकम प्रदान गर्ने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

१ नम्वर प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०७६÷०७७मा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (पकेट÷ब्लक) र प्राङ्गारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम अन्तर्गतको अनुदान बितरणमा समेत पहुँचवालाकै हाली मुहाली भएको छ । कृषि ज्ञान केन्द्रमार्फत बितरण गरिएको सबै रकम ठूला पहुँचवाला किसानले मात्रै हात पारेको श्रोतको दावी छ । सरकारले मध्यम र साना कृषकलाई लक्षित गरी अनुदानको रकम वितरण गर्ने गरे पनि पहुँचवाला किसान मात्रै लाभान्वित हुँदै आएका छन् ।

१ नम्वर प्रदेश सरकाको आर्थिक वर्ष २०७५÷०७६मा वितरण गरिएको अनुदान रकमलाई हेर्ने हो भने सबै भन्दा बढी अनुदानको रकम झापाका पहुँचवाला ठूला किसानले लिएका छन् । दुई आर्थिक वर्षको तथ्याङ्क अनुसारझापाका ५८ वटा समूहका ठूला किसानले ५ करोड ६८ लाख ३ हजार रुपैयाँ अनुदानमा लिएका छन् । तर, दुई वर्षमा सोलुखुम्वूका तीन वटा कृषि फर्मले मात्र अनुदानको रकम लिएको देखिन्छ । सोलुखुम्वूका किसानले दुई आर्थिक वर्षमा अलैंची, अकवरे खोर्सानी र तरकारी उत्पादनका लागि भन्दै ६५ लाख रुपैयाँ मात्र अनुदान लिएका छन् ।

झापाका ठूला किसानले विभिन्न विषयगत ब्लक सञ्चालनका लागि भन्दै अनुदानको रकम लिएका छन् । सहकारी संस्था, फर्म, समूह, उद्योग गरी १० वटाले अनुदानको रकम लिएका छन् । त्यस्तै विभिन्न पकेट क्षेत्र सञ्चालनका नाममा ४८ वटा संस्था, फर्म, समूह, उद्योगले अनुदानको रकम लिएका छन् । अनुदानको रकम लिने संस्था, फर्म, समूह, उद्योगको संख्या संखुवासभामा तीनसहित उदयपुरमा १०, मोरङ र सुनसरीमा ७४, संखुवासभामा ११, इलाममा २५, धनकुटा र तेह्रथुममा ३५, भोजपुरमा २, ताप्लेजुङ र पाँचथरमा ३८, खोटाङमा १९ रहेका छन् ।

झापाका १५ वटा स्थानीय तहमध्ये पनि गौरादह नगरपालिकाका धेरै संस्था, फर्म, समूह, उद्योगले अनुदान रकम लिएका छन् । गौरादह नगरपालिकाका ८ वटा संस्था, फर्म, समूह, उद्योगले अनुदानको रकम लिएका छन् ।
त्यस्तै बिर्तामोडमा ३, झापामा ३, दमकमा ३, वाह्रदशीमा ४, मेचीमा १, कमलमा ५, भद्रपुरमा २, शिवसताक्षीमा ७, कनकाईमा ४, बुद्धशान्तिमा २, हल्दिवारीमा ४, केचनामा ४ र अर्जुनधारामा ६ गरी जम्मा ५८ वटा संस्था, फर्म, समूह, उद्योगले प्रदेश सरकारबाट अनुदान लिएका छन् ।

जसमध्ये सबैभन्दा धेरै च्याउ खेतीका लागि दमक नगरपालिका–२का नेत्रप्रसाद जवेगूले ३३ लाख ७९ हजार रुपैयाँ अनुदान पाएका छन् । उनले जवेगू च्याउ उद्योगका लागि सो रकम पाएका हुन् । बिगत सात वर्षदेखि नियमित च्याउ खेती गर्दै आएका उनले च्याउ पकेट कार्यक्रमका लागि सो रकम अनुदानमा पाएका हुन् । उनले दैनिक एकदेखि डेढ क्वीटल च्याउ बिक्री गर्दै आएका छन् । उनी ठूलो कारोवार गर्ने किसान हुन् । उनले १५ कठ्ठा जमिन लिजमा लिएर च्याउ खेती गर्दै आएका छन् । उनको च्याउ उद्योगमा नियमित ५ र ज्यालादारीमा पाँच जनाले रोजगारी पाएका छन् । मासिक ५देखि ६ लाख रुपैयाँसम्मको च्याउ विक्री गर्ने गरेको जवेगूको भनाइ छ । यसअघि उनले च्याउ ब्लक सञ्चालनका लागि भन्दै वार्षिक ५ लाख रुपैयाँसम्म हरेक वर्ष अनुदानको रकम लिने गरेका थिए । उनले २०७३ सालबाट च्याउ खेती गर्दै आएका छन् ।

उनी जस्तै कमल गाउँपालिका–२मा रहेको श्री आईपीएम आलू ब्लक सञ्चालन समितिले ३० लाख ५२ हजार रुपैयाँ अनुदान रकम लिएको छ । सो समितिले पनि आलू खेतीका लागि रकम लिएको हो । कृषि ज्ञान केन्द्र, प्रदेश सरकार र कारितास नेपालसँग गरेर सो आईपीएम आलू ब्लक सञ्चालन समितिले झण्डै ४० लाख रुपैयाँ अनुदान लिएको छ । ५० प्रतिशत किसानको सहभागिता रहने गरी सो समितिले अनुदान रकम लिएको समितिका कोषाध्यक्ष टंक कटुवालले बताए । त्यहाँका किसानले ६४ विगाह क्षेत्रफलमा आलू खेती गरेको बताइन्छ । समूहमा आवद्ध सबै किसान पहुँचवाला रहेको स्रोतले जनाएको छ ।

कृषि ज्ञान केन्द्रमार्फत नै अनुदानको रकम पाउने अर्काे संस्था हो– बाह्रदशी गाउँपालिका–७मा रहेको दुर्गा माता कोला खेती तथा कृषि फर्म । जसले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक बिकास कार्यक्रमका लागि ३५ लाख रुपैयाँ अनुदान लिएको छ । संस्थाले ३५ लाख रुपैयाँ फर्मको लगानी रहने गरी सो रकम अनुदानमा लिएको हो । अनुदान रकम पाउने व्यक्ति ठूला र पहुँचवाला कृषक हुन् ।

उता हाम्रो हातेमालो कृषि सहकारी संस्थाले कृषकका नाममा सरकारबाट २५ लाख ३४ हजार रुपैयाँ अनुदान लिएको छ । यो शिवसताक्षी नगरपालिकामा रहेको छ । शिवसताक्षी–१मा रहेको यो संस्थाले धान खेतीका लागि भन्दै अनुदान लिएको हो । शिवसताक्षी महिला महुरीपालन सहकारी संस्थाले पनि २५ लाख रुपैयाँ अनुदान रकम लिएको छ । शिवसताक्षी नगरपालिकाको ११मा यो संस्था रहेको छ ।

त्यस्तै आदर्श कोहोबरा मूल कृषक समूहले पनि राज्यबाट २५ लाख रुपैयाँ अनुदानमा लिएको छ । यो गौरादह– ४मा रहेको छ । धान खेतीका लागि भन्दै यो संस्थाले राज्यबाट यतिका मोटो रकम लिएको हो । यता बाह्रदशी गाउँपालिका–५मा रहेको हरित क्रान्ति मकै ब्लक विकास कार्यक्रम सहकारी संस्थाले मकै खेतीका लागि २४ लाख ६८ हजार रुपैयाँ अनुदान लिएको छ । १०० हेक्टर क्षेत्रफलमा मकै उत्पादन गर्ने भन्दै सो सहकारीले सरकारबाट मोटो रकम अनुदानमा लिएको हो । शिवसताक्षी–१मा रहेको च्याउ खेती कृषक समूहले पनि २३ लाख ५५ हजार रुपैयाँ च्याउ खेतीका लागि राज्यबाट अनुदान लिएको छ । १० हजार केजी च्याउ उत्पादन गर्ने भन्दै यतिका मोटो रकम यो समूहले लिएको हो ।

राज्यबाट अनुदान रकम लिने संस्था, फर्म र सहकारीको अवस्थाबाटै प्रष्ट हुन्छ मध्यम र निम्नवर्गका किसानका लागि आएको अनुदान पहुँचवाला र ठूलो कारोवार गर्ने किसानको हातमा छ । संघीय सरकार, प्रदेश र स्थानीय तहले दिने अनुदानको रकम र विभिन्न दातृ संघ–संस्थाले प्रदान गर्दै आएको अनुदानको रकम समेत सीमित व्यक्ति र संस्थाका नाममा जाने गरेको छ । जसका कारण विपन्न र निम्न आय भएका किसानहरुले अनुदानको रकम देख्न त के सुन्न समेत पाउँदैनन् ।
कृषिलाई मुख्य पेशा बनाएर व्यवसायीकरण र औद्योगिकीकरणमा आउन चाहने युवा तथा व्यवसायीहरु समेत अनुदान नपाउँदा निरुत्साहित र पलायन भएको अवस्था छ । सरकारले भने पहुँचवालालाई मात्रै अनुदानको रकम दिँदै आएको छ ।

किसानको स्पष्ट पहिचान पश्चात मल र बीऊ जस्ता उत्पादनका आधारभूत सामग्रीमा अनुदानको सुनिश्चितता हुनुपर्ने भए पनि हचुवाको भरमा सरकारले कृषिमा अनुदान प्रदान गरिरहेको सरोकारवालाले बताउँदै आएका छन् । अनुदानको सही प्रयोगका लागि साना तथा मध्यम किसानहरुलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने र परिचयपत्रको आधारमा सरकारबाट वितरण हुने सेवा सुबिधाहरु उपलब्ध गराउने माग उठ्ने गरेपनि सुनुवाई नहुँदा वास्तविक किसान अनुदान लिनबाट सँधै वञ्चित हुँदै आएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु