#

गौरादह बृद्धा हत्या प्रकरण : ‘शंका’को सुई कतातिर ?


झापा । झापाको गौरादहमा भएको ६५ बर्षीया पार्वता भण्डारीको हत्याबारे अहिलेपनि प्रहरीको अनुसन्धान जारी छ । घटना सोमबार भएको भएपनि बुधबारसम्म प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । यस बिचमा प्रहरीले मृतकका श्रीमानसँग करिब २ घण्टा सोधपुछ गरेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ । प्रहरीले त्यस अघि मृतकका परिबारले संका गरेका केहि ब्यक्तीलाई समेत सोधपुछ गरिसकेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी उच्च अधिकारीले भने, “अनुसन्धान धेरै पाटोबाट गर्नुपर्ने हुन्छ । हामीले मृतकका परिवारले संका गरेका ब्यक्तीसँग आवस्यक सोधपुछ गरिसकेका छौं । मृतकका श्रीमानसँगपनि हामीले मंगलबार केहि कुराहरु सोधपुछ गर्यौ । हामी केहि दिनमै अपराधी पत्ता लगाउदैछौं ।” प्रहरीले सोमबार साँझ परिसकेकाले केहि क्ल्यू नभेटेपनि मंगलबार उज्यालोमा हेर्दा घर अगाडीको धानबारीमा जग्गा सम्बन्धीका कागजपत्र फेला पारेको थियो । यस्तै सोमबार राति अवेरसम्म प्रहरीले संघीय प्रहरी ईकाइ धरानबाट झिकाएको कुकुरबाट अनुसन्धान सुरु गरेको थियो । डग स्न्याफिङ गराएपनि खासै प्रहरीलाई त्यसबेला सफलता मिलेन । तर अनुसन्धानलाई सघाउ भने पुगेको प्रहरी उच्च श्रोत बताउछ । यस्तै घटनाको दोश्रो दिन मंगलबार मृतकका पति भिम भण्डारीसँग प्रहरीले सोधपुछ गर्नु अघि हामीले पनि कुराकानी गरेका थियौं । उनले हामीसँगको कुराकानीमा आफु सोमबार दिउसो करिब १ बजेको समयमा घरबाट बाहिर निस्किएको र बेलुका करिब साढे ४ बजेको समयमा घर फर्कदा श्रीमतिलाई रगतको आहालमा भेटेपछि हारगुहार गरेको बताएका छन् । उनले आफु र आफ्नो परिवारलाई २ बर्ष अघि जग्गाको लेन देनको बिषयमा मार्छु र काट्छु भन्दै धम्क्याएको भएपनि अहिले सो घटना साम्य भएको बताएका थिए । यस्तै बुधबार बिहान मृतकका नातापर्ने एक ब्याक्तीले हामीलाई टेलिफोन मार्फत दिएको जानकारी अनुसार अहिले प्रहरीले मृतकका श्रीमानमाथिपनि संका गरेको पाईएको छ । तर मृतकका नाता पर्ने ति ब्याक्तीले भने आफुहरुलाई भने यस्तो कुरामा विश्वासनै नलाग्ने बताएका छन् । प्रहरीको अनुसन्धान जारीनै रहेका बेला बिभिन्न कोणबाट अनुसन्धान हुनुलाई स्वभाबिक रुपमा लिनुपर्ने झापा प्रहरी प्रमुख एसपी कृष्ण कोईरालाको भनाइ छ । हत्यारा अझै पत्ता लागेन नि भन्ने हाम्रो जिज्ञाशामा एसपी कोईरालाले भने, “अनुसन्धान जारी छ । फ्याट्टै यसै हो भन्न सकिने अवस्था रहन्न । तर हामीले आवस्यक सोधपुछको कामलाई जारी राखेका छौं । कसैलाई नियन्त्रणमा लिएको भन्ने खबर चाहि होईन । ” यस बिचमा संकाको सुई जतातिर फर्किएको भएपनि प्रहरीले आफ्नो अनुसन्धानलाई अगाडी बढाईरहेको छ । तर यो घटनाका सम्बन्धमा केहि प्रश्नहरु भने पक्कै पनि उब्जाएकै छ । जुन प्रश्न अझैसम्म पनि अनुत्तरित नै छ । प्रश्न नम्बर १ — घटना भएको दिन अर्थात सोमबार दिउँसो करिब २ बजेसम्मपनि मृतकको घर नजिकैको घरमा एउटा लघुबित्तको बैठक थियो । त्याहा धेरैजनाको उपस्थितीपनि थियो । तर यत्रो घटना हुँदापनि कसैले सुईकोसम्म कसरी पाउन सकेनन् ? प्रश्न नम्बर २ — भण्डारीका श्रीमान श्रीमति सोमबारमात्रै आफ्नो मुल घर स्थानीय ढ्याङ्ग्री भन्ने स्थानबाट गौरादहमा रहेको अर्को घरमा आएका थिए । उनीहरु सोमबारै त्याहा आउदैछन् भन्ने हत्याराले कसरी चाल पायो ? प्रश्न नम्बर ३ — शवको प्रकृती हेर्दा र घटनास्थलको बिश्लेषण गर्दा त्याहा हत्यारा र मृतक बिच घम्साघम्सी भएको हुन सक्ने देखिन्छ । चोरीको नियतले यस्तो घटना भएको थियो भने बैंकका चेक र केहि थान कागजपत्र किन र कसरी घटनास्थल नजिकै फालियो ? प्रश्न नम्बर ४ — तालिम प्राप्त कुकुर पूर्वको सिस्ने खोलामा पुगेर रोकिनु र फर्किएपछि घटनास्थालमा पुगेपछि पटक पटक बाथरुम तिर किन गयो ? यि र यस्ता प्रश्नको जवाफ अनुसन्धानपछिनै आउला । तर यि प्रश्न सबैका मनमा उब्जिएकै हुन् । मृतकको घरमा रहेका कुनैपनि सामग्री चोरी नभएको साथै मृतक महिला र हत्यारा बीच केही हातपात भए जस्तो अनुसन्धानले देखाएको छ । यस्तै शवको छेउमा लुगाहरु छरिएको अवस्थामा रहेको समेत फेला परेको बताईएको छ । यस्तै, अनुसन्धानको क्रममा प्रहरीले घर पछाडी रहेको धान बारीमा कृषि विकास बैंकको चेक समेत भेटाएको छ भने बाथरुममा १० रुपैयाको नोट फेला पार्नुका साथै बाल्टिनमा ज्याकेट भिजाएर राखिएको र जमिनमा लागेको रगत पुछेको जस्तो देखिएको छ । बृद्धाको आज अन्तेष्टि यसैबिच आज मृतकको शब पोष्टमार्टमपछि झापामै ल्याएरे अन्तेष्टि गरिदै छ । सोमबार राति करिब साढे ११ बजे उक्त शब प्रहरीले स्थानीय जनप्रतिनिधीको रहोबरमा मुचुल्का तयार पारी पोष्टमार्टमका लागि बिपि कोईराला स्वास्थ्इ बिज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु