
तिहारलाई लक्षित गरी भित्राउने प्रतिबन्धित बारुदजन्य पटाका अहिले नै भित्रिन थालिसकेका छन् । दसैँअघि पटाका भित्राउने तस्करको योजनालाई विफल बनाउन प्रहरी लागि परेका छन् ।
यसैक्रममा भद्रपुर नगरपालिका ३ स्थित महेशपुर नाकाबाट पटाकासहित एक जना अटो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ४ बस्ने ४२ वर्षीय ढाक्रे राजवंशी रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले शुक्रवार बेलुका ७ बजे मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिएको थियो ।
अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा अटो भित्र लोट गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बन्डल खुर्सानी पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटाकाका मूल्य एक लाख बढी हो । बरामद गरिएको पटाका र अटोसहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया