#

चिया गफले पाएको सार्थकता, दमकका ४ युवा यसरी बने उद्यमी


“स्वदेशमै केहि काम गरौं पढाई अनुसारको काम मिल्दैन, आफ्नै लगानीमा केहि ईलम गरौं न त भन्यो कसैले दुई रुपैया पत्याउदैन अनि बिदेशको यात्रा नगरेर धरनै छैन ।” केहि महिना अघिसम्मपनि ताप्लेजुङबाट दमक आएर बसेका लक्ष्मी अधिकारीले साथीहरुलाई यहि कुरा सुनाउँथे ।
लक्ष्मी मात्र हैन, झापा दमककै दिपक नेपालकोपनि कुरा उही । उनी त झन् अब बिदेशनै हानिने हो भनेर पासपोर्ट तयार गरि प्रकृया सुरु गर्दै थिए । तर दमककै नारायण मुर्मुको कथा भने अलि फरक । उनी चाहि ग्यारेज सञ्चालन गरेर दमकमै बस्ने अडानमै थिए । अनि निरज नेपालीकोपनि पीडा खपिनसक्नुको । उनीपनि अब के गर्ने होला भनेर दिनहु घोत्लीरहन्थे । कुनै योजनानै थिएन उनीसँगपनि ।
तर संयोगले यि ४ जनाको भेट गरायो दमककै एउटा चियापशलमा । चियाको चुस्कीसँगै यि चार भाई गफिन थाले । यत्तिकैमा उनीहरु एउटा यस्तो निश्कर्षमा पुगे कि अब स्वदेशमै केहि गर्नुपर्छ र सबैलाई देखाउनुपर्छ भन्ने । त्यसैले उनीहरुले थोरै समयमै निर्णय गरिहाले । यि चारजना युवा मिलेर झापाको दमकमामा उद्योग र कार्यालय रहने गरि सगरमाथा बहुउदेश्य उद्योग दर्ता गरे ।
जसो तसो लगानी जुटाउदै गए यि ४ जना युवाले । अन्तत चिया गफबाट सुरु भएको उनीहरुको व्यवसायिक यात्रा यतिबेला निक्कै अगाडी बढिसकेको छ । १ करोड लगानी गरेर अहिले यि युवाले उद्योग स्थापना गरेका छन् । उद्योगमा अहिले सर्फ, साबुन, फिनेल, हार्पिक उत्पादन भईरहेको सञ्चालक मध्येका लक्ष्मीले बताए ।
प्रदेश १ भित्र ६ महिनाभरीमा आफ्नो उत्पादन पुर्याईसक्ने आफुहरुको लक्ष्य रहेको अर्का सञ्चालक दिपक नेपाल बताउँछन् । योजना बनाएर काम सुरु गर्ने भनेपनि बिचैमा आएको महामारी र त्यसबाट उत्पन्न बिषम परिस्थितीले उनीहरुको योजनालाई केहि पर धकेल्यो । सुरुमा त केहि चिन्तितपनि भए उनीहरु । कतै लगानी डुब्ला कि भनेर । तर उनीहरु कतिपनि बिचलित नभई धैर्य गरेरै बसे । अन्तत ः उनीहरुको योजनाले आज सार्थकता पाईसकेको छ ।
हिजोका दिनमा निक्कै पीडा खेपेका यि युवाहरु स्वदेशमा केहि काम छैन भन्दै बिदेश जान खोज्ने युवाहरुलाई स्वदेशमै केहि गर्न सुझाव दिन्छन् । एक छाक मकै र एक छाक भोकै भएपनि आफ्नै देशमा दुख गरेर अगाडी बढ्न उनीहरु सुझाव दिन्छन् । सुरुमा आफुहरुले उद्योग सुरु गर्ने भनेको सुन्दा धेरैले आफुहरुलाई गिज्याएको अहिले यि युवाहरु झल्झली सम्झिन्छन् । हिजोका दिनमा गिज्याउनेहरुपनि अहिले बधाई र सुभकामना दिन आएको देख्दा आफुहरुलाई आनन्द आउने गरेको अर्का सञ्चालक निरज नेपाली बताउछन् ।
स्वदेशमै केहि गर्छु भन्नेहरुलाई राज्यले सहयोग गर्नुपर्ने अर्का सञ्चालक नारायण मुर्मु बताउँछन् । राज्यबाट निशुल्क तालिमको व्यवस्था साथै स्वदेशी उत्पादनलाई राज्यले प्रोत्साहन गर्न सके हातमा हरियो पासपोर्ट बोकेर बिदेश जानेको पंक्ती त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा देख्नु नपर्ने नारायण बताउँछन् ।
राज्यले स्वदेशमै केहि ईलम गर्छौ भन्नेलाई सहयोग गरेका समाचार यदाकदा सुन्ने गरेको भएपनि लक्षित बर्गसम्म त्यस्ता सहयोग र अनुदान पुग्न नसकेको बताउछन् यि युवाहरु । राज्यले गोजीकालाई भन्दापनि वास्तबिकता हेरेर खोजेकालाई प्रोत्साहन र सहयोग गर्नुपर्ने उनीहरुको सुझाव छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु