
इलाम । कहिले मूल्य र कहिले निर्यातको समस्या भोगिरहेका किसानलाई यो वर्ष चियाको बोटमा देखिएको रोगले चिन्तित बनाएको छ । उत्पादन झण्डै आधा घटाउने गरी चियामा मुना पिल्सिने (थ्रिप्स), सिन्दुरे र डढुवा रोग देखिएको किसानले बताएका छन् ।
हरेक बर्खामा प्रायः यो रोग देखिने भए पनि थोरै क्षेत्रफल र छोटो समय मात्रै रहन्थ्यो । असार र साउनको केही समयसम्म मात्रै रहने यो रोग अहिले असोज तेस्रो सातासम्म नहटेपछि उत्पादन कम हुने निश्चित भएको छ । टिप्ने बेलाको पत्तीमा कालो थेग्ला बस्ने, त्यही थेग्ला मुना, पात सबैतिर ढाकेर बोटै कालो हुने र पातमा फोका आउने समस्या देखिएको किसानले जनाएका छन् ।
किसानले यो वर्ष गत वर्षको तुलनामा निकै कममात्र हरियोपत्ती उत्पादन गर्न सकेको उनले जनाए । जिल्लाको पूर्वी क्षेत्रका किसान पनि चियामा देखिएको यही रोगका कारण समस्यामा छन् । न्यूनतम मूल्य नपाए पनि आफूले उत्पादन गरेको हरियोपत्ती टिपेर उद्योगलाई बेच्न बाध्य किसान यो वर्ष रोगले चिया सखाप बनाएको सुनाउँछन् । केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले यी रोगले इलामसहित अन्य जिल्लाका सयौं किसानको हरियोपत्ती नष्ट भएको जनाए ।
घरायसी उपचार र औषधीले चियाको रोग नगएको किसानको गुनासो छ । जानकारले भने बढी चिसो र हुस्सु लाग्ने ठाउँको चियामा यो रोग देखिने बताएका छन् । स्याहार नपुगेको बोटमा बढी लागेको हुन सक्ने भएकाले अर्गानिक चियालाई पुग्दो मल र जैविक औषधि प्रयोग गर्न उनीहरू सुझाउँछन् ।
फेसबुकमा तपाईको प्रतिक्रिया