जीवनशैली

झापाका ११ वटा स्थानीय तहमा १० देखि १५ शैयाको अस्पताल बन्दै, मंसिर १५ गते शिलान्यास


      २०७७ मंसिर ७, आईतवार १७:३६

झापा — झापाका ११ वटा स्थानीय तहमा १० देखि १५ शैयाको अस्पतालको शिलान्यास हुँदैछ । मंसीर १५ गते भित्र सबै अस्पताल शिलान्यास गरि सकिने कार्यक्रम रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शय्याको अस्पताल निर्माणको शिलान्यास एकैसाथ गर्न लागेको हो । झापाका १० सहित देशका ३९६ स्थानीय तहका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्दै अस्पताल निर्माणका लागि पत्राचार गरिएको छ ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगी हुने भएकाले मंसीर १५ गते एकैसाथ शिलान्यास गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ । देशभरका ३९६ स्थानीय तहको स्वास्थ्य संस्थामा ५, १० र १५ शैयाको अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा समेत भइरहेको मन्त्रालय जानकारी दिएको छ ।
यस अनुसार झापाका ५ नगरपालिका र ६ गाउँपालिकामा अस्पताल बन्ने भएको हो । बिर्तामोडस्थित अनारमनी स्वास्थ्य चौकी, गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकी, कनकाई नगरपालिकाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, मेचीनगर नगरपालिकाको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शिवसताक्षी नगरपालिकाको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल निर्माण हुन लागेका हुन् । त्यस्तै बाह्रदशी गाउँपालिकाको राजगढ स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल निर्माण गरिँदैछ भने बुद्धशान्ति गाउँपालिकाको बुधबारे स्वास्थ्य चौकी, झापा गाउँपालिकाको टाघनडुब्बा स्वास्थ्य चौकीलाई १०÷१० शैयाकोे अस्पताल बनाइँदैछ ।
यता कमल गाउँपालिकाको तोपगाछी स्वास्थ्य चौकीमा १५ शैया, गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैया र हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शैयाकोे अस्पताल निर्माण हुन लागेको हो । मन्त्रालयले लागत इस्टीमेट तयार गरी थप ३० प्रतिशत बजेट सम्बन्धित पालिकाले व्यहोर्ने व्यवस्था गरेको छ ।
यस्तै हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल बनाउनका लागि बजेट विनियोजन भएर आएपनि अस्पताल निर्माणका विषयमा विवाद रहेको छ । हल्दिबारी–१को गोलधापमा रहेको गोलधाप स्वास्थ्य चौकी र जलथल स्वास्थ्य चौकीलाई अस्पताल बनाउने भन्ने विषयमा विवाद छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु