जीवनशैली

गोली हानेको भनिएका श्रेष्ठको घाँटी रेटेर हत्या भएको पुष्टि


      २०७७ मंसिर २३, मंगलवार १७:१७

विराटनगर । मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्याप राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको पुष्टि भएको छ ।

यसअघि प्रहरीले स्थानीयले दिएको जानकारीको आधारमा गोली हानेर हत्या भएको बताएकोमा प्रहरी टोली घटनास्थल पुग्दा घाँटी रेटेर हत्या भएको खुलेको हो ।

सामाजिक अगुवासमेत रहेका ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या गरिएको अवस्थामा मंगलबार विहान शव भेटिएको थियो । उनलाई घरबाटै ४–५ जनाको समूहले अपहरण गरेर लगेको एक घण्टापछि स्थानीयले शव भेटेका थिए ।

घटना भएको करिब ८ घण्टापछि प्रहरीले पूर्वोत्तर मोरङको विकट क्षेत्रमा पर्ने घटनास्थलमा पुगेको थियो । मोरङ प्रहरीको टोली घटनास्थलमा पुग्दा श्रेष्ठको दुवै हात बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिनुभयो ।

‘घटनास्थलमा मोरङ प्रहरीको टोली केही बेर अगाडि पुगेको छ,’ डिआइजी कार्कीले भन्नुभयो, ‘घटनास्थलमा पुग्दा मृतकको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको छ । दुवै हात बाँधेको अवस्थामा पछाडि रहेको छ ।’ स्थानीयले गोली चलेको आवाज सुनेको आधारमा गोली हानेर हत्या भएको जानकारी दिएपनि मृतकको शवमा गोली प्रहार भएको नदेखिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई घरबाट उठाएर लगेको १ घण्टापछि गोली चलेको आवाज स्थानीयले सुनेका थिए । त्यसपछि स्थानीयले उनको खोजी गर्ने क्रममा जंगलमा शव भेटेर प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले विप्लब समूहका कार्यकर्ताले श्रेष्ठको अपहरण गरि हत्या भएको सूचना रहेको जानकारी दिनुभएको छ ।

प्रदेश प्रहरी, मोरङ प्रहरीका डिएसपीसहितको टोली घटनास्थलमा पुगेर अहिले अनुसन्धान गरिरहेका डिआइजी कार्कीले जानकारी दिनुभयो । प्रहरीले सो क्षेत्रलाई शिलबन्दी गरेर हत्यामा संलग्नको खोजी गरिरहेको जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु