
दमक – झापा र पाँचथरमा बिहीबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।झापाको अर्जुनधारा नगरपालिका–११ स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिँदा पैदल यात्री स्थानीय ३३ वर्षीय ललित चौधरीको ज्यान गएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा परेर घाइते भएका चौधरीको उपचारका क्रममा बिर्तामोडको बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल र चालक झापाको मेचीनगर नगरपालिका–१२ का ३८ वर्षीय दानबहादुर राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका–५ दुवीचौरस्थित मेची राजमार्गमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अमरपुरबाट काबेलीतर्फ जाँदै गरेको मे ४ प ८९४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका चालक हिलिहाङ –५ का अन्दाजी २३ वर्षीय प्रविण कालिकोटेको मृत्यु भएको एसपी शर्माले जानकारी दिए ।उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका कालिकोटेको उपचारका क्रममा राति ८ः४५ बजेतिर जिल्ला अस्पताल पाँचथरमा ज्यान गएको हो । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार हिलिहाङ–२ की १९ वर्षीया मुना पाख्रिन गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि बी एण्ड सी अस्पताल रेफर गरिएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया