जीवनशैली

आज शतबीज छर्ने दिन, शिवालयहरुमा शतबीज छरिँदै


      २०७७ मंसिर २८, आईतवार ०७:३२

आज मंसिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। आज देवालय एवम् तिर्थस्थलहरूमा सतबीज छर्नाले पितृ उद्धार हुने विश्वास गरिन्छ। मंसिर कृष्ण त्रयोदशीको साँझमा धरानको पिण्डेश्वर लगायत अधिराज्य भरिका अन्य शिवालयहरूमा पितृका नाममा दीप प्रज्वलन गरी रातभर जाग्राम बसी भजन किर्तन गरि भोलिपल्ट अर्थात् आज चतुर्दशीको दिन शतबीज छर्ने परम्परा रहेको छ ।

सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् ।
मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।। (हेमाद्रि÷वार्षिकरत्नावली वर्षकृत्यखण्ड)

अर्थात् मृगस्थलीको परिभ्रमण गरी एक बीज धान छर्नाले पुनर्जन्मबाट मुक्तिका पाईनुका साथै सुन दान गरेबराबरको फल मिल्दछ भन्ने प्रमाण धर्मशास्त्रहरुमा उल्लेख छ। शत भन्नले सय र बीज भन्नाले बिऊ भन्ने अर्थ लाग्ने भएकाले सय अन्नको बिउलाई नै शतबीज भनिएको हो। आफ्ना पितृहरूका नाममा त्रयोदशीका राति बत्ती वालेर भोलिपल्ट अर्थात् चतुर्दशीका दिन विहान शिवालय, मृगस्थली, श्लेष्मान्तक वन, धराको पिण्डेश्वर रुद्राक्षारण्य क्षेत्र लगायत अन्य शिव मन्दिरको परिसरमा शतबीज छर्ने चलन रहेको छ।

शतबीज भनी धान, जौ, गहुँ, चना, तिल, कागुनु, मकै, केरा, उखु, सुन्तला, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरुको प्रयोग गर्ने चलन रहेको छ । तर शास्त्रीय प्रमाणमा भने धानका सयवटा बीउ छर्नु भनेर उल्लेख गरिएको छ ।

बालाचतुर्दशीमा विशेषतः शिवजीको उपासना हुने गर्दछ । पशुपति, मृगस्थली कैलाश एवम् पिण्डेश्वर रुद्राक्षारण्य क्षेत्र शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने फल प्रमाण पाइन्छ । भगवान शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बालाचतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि रहेको छ ।

एक किंवदन्ती अनुसार पशुपतिको आर्य घाटमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मूर्दाको टाउको फुटी उछिट्टीएको गिदी उनले खान लागेको चिउरामा परेको र उक्त गिदीसँगै खाजा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्केका थिए । लामा–लामा दाह्री, जुँगा र कपालले गर्दा मानिसहरू डराई उसलाई बालासुर राक्षस भन्न थाले । बालानन्दको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाह अनुसार स्थानीय बासिन्दाले सिंहमार्फत् बालासुरलाई मार्न लगाएको किंवदन्ती पाइन्छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएको कथा पाइन्छ । सोही बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बात्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ।यसरी पितृको सम्झना गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुन्छ। पितृ खुसी भए परिवारमा सुख शान्ती समृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुराको उल्लेख गरिएकोले पनि यस पर्वको महत्त्व पितृमोक्ष मात्र नभएर आत्मकल्याणका लागि पनि हो भन्ने प्रष्ट हुन्छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु