अर्थ

कृषिथोक बजार मियोँ बिनाको दाँइ, एक दशकदेखि नेतृत्व विहीन, नयाँ नेतृत्वको लागि २४ र २५ गते निर्वाचन


      २०७७ पुष २३, बिहीबार ०९:४९

बिर्तामोड । एक दशकदेखि नेतृत्व विहीन बनेको पूर्व कै ठुलो कृषि उपज थोक बजार बिर्तामोडले नेतृत्व पाउने भएको छ । ०६७ सालदेखि नेतृत्व विहीन भएको कृषि थोकमा नयाँ नेतृत्वको लागि २४ र २५ गते निर्वाचन हुदैछ ।

निर्वाचनले किसानबाट ३ र व्यवसायीबाट ३ जना प्रतिनिधि कृषि उपज बजारलाई दिनेछ । कृषि उपज थोक बजार बिर्तामोडको सञ्चालक समितिमा वडा अध्यक्ष राजेन्द्र लिङ्देन पदेन सदस्य रहनेछन् । किसानको २४ र व्यवसायी तर्फको २५ गते निर्वाचन हुने स्थानीय व्यवसायीले जानकारी दिए ।

झापाको बिर्तामोड, मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, बाह्रदशी, हल्दिवारी र भद्रपुरका किसानले ३ जना किसान तर्फकै सदस्य छान्न पाउने छन् । हरेक पालिकाका किसानहरुबाट ५ जना प्रतिनिधिले नेतृत्व छान्न मतदान गर्न पाउने व्यवस्था रहेको छ । यस्तै, ३ जना व्यवसायी सदस्य छान्नका लागि कषि थोकमा नविकरण गरिसकेका २ सय ५६ जनाले मतदान गर्नेछन् ।

कृषि थोक बजार क्षेत्रमा नेतृत्व नहुँदा व्यापक विकृति मौलाएको छ । किसानको लागि स्थापना गरिएको कषिथोक बजारमा व्यापारीको हालीमुहाली रहेको भनाई छ । व्यवसायीकै अगुवाईमा किसानलाई विक्रि वितरणका लागि निश्चित क्षेत्र तोकिएको छ ।

सो बजार क्षेत्रमा किसानले उत्पादन गरेको फसल आफै गएर विक्रि गर्न लगभग बन्द छ । व्यापारी र विचौलियाका कारण किसानहरु मारमा परेको बताइन्छ । सञ्चालक समिति नहुँदा कृषि ज्ञान केन्द्रले हेरिरहेको बजारलाई व्यवसायी आफ्नै मर्जीमा चलाइरहेका छन् । निर्वाचनमा उम्मेद्वार बनेका धर्म प्रसाद बरालले बजार भित्रको विकृति सुधार गर्न नयाँ नेतृत्व आवश्यक भएको बताए । उनले बजारलाई व्यवस्थित र किसानमैत्री बनाउन जोड दिने बताएका छन् । उनले बजारभित्र किसान चौतारी निर्माण गरेर किसानलाई आफ्नो फसल विक्रिका लागि सहज बनाइएको जानकारी दिए । बजारमा व्यापारीको शासन चलिरहेको छ नि भन्ने जिज्ञासामा बरालले इजलाससित भने, बजारमा केहि समस्या छैन भन्न सकिन्न । तर, रहेका समस्यालाई विस्तारै समाधान गरिन्छ ।

अर्का उम्मेद्वार खगेन्द्र महतोले कृषिथोक व्यापारी, किसान र उपभोक्ताको साझा बजार भएको बताएका छन् । उनले आगामी नेतृत्व बजार क्षेत्रको समस्या समाधान गर्दै व्यवस्थित बजार निर्माणमा लाग्ने उनको भनाई छ । उनले बजारमा केहि समस्याहरु रहेको स्वीकार गरेका छन् । बजार नेतृत्व विहीन भएकाले समस्या बढेको महतो बताउँछन् । नयाँ नेतृत्वले किसान, व्यापारी र उपभोक्ता सबैको समस्या सम्बोधन गर्ने जानकारी दिए ।

कषि थोक बजारमा नेतृत्व नहुँदा किसान मारमा परेका छन् । सस्तो भाडामा बसेर व्यापारीले उपभोक्तालाई समेत मारमा पारेको गुनासो बढिरहेको छ । उपभोक्ताले व्यापारीको मर्जीका कारण मनपरी मुल्य तिर्नुपर्ने अवस्था आएको बिर्तामोडका अगुवा बताउँछन् । पाँच देशसँग जोडिएको कृषि थोकलाई बिर्तामोड नगरपालिकाले आफ्नै स्वामित्वमा ल्याउने प्रयास गरिरहेको छ । तर, व्यापारीले केन्द्र मातहतबाटै कृषि बजार सञ्चालन हुनुपर्ने अडान राख्दै आएका छन् ।
अहिले कृषिथोक बजार अव्यवस्थित र ‘मियोँ बिनाको दाँइ’ भइरहेको टिप्पणी हुने गरेको छ । अधिकांश उपभोक्ताले किसानका तर्फबाट सञ्चालक समितिको नेतृत्व भएमा सबैले अपनत्व लिन सक्ने चर्चा शुरु भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु