जीवनशैली

भारत लैजाने क्रममा इलामबाट तीन किशोरीको उद्धार


      २०७७ पुष २३, बिहीबार १६:२५

इलाम – भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा यस टोलीले सोधपुछ गरेको थियो ।

उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिनुभयो । सङ्खुवासभा घर भएर अहिले काठमाण्डौ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाण्डौमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाण्डौ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

शेर्पाले भारतकाे दार्जिलिङमा काम खोजिदिएको र महिनाको नौ हजार रुपैयाँ तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाएको सोधपुछका क्रममा खुलेको ढकालको भनाइ छ । उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएको छ ।

पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा रहेका दर्जनाैँ चोर बाटोकाे प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

गएकाे मङ्सिरमा मात्र चोर बाटोका प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दश किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोली उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु