खेलकुद

झापामा पहिलो खुला साइक्लिङ प्रतियोगिता हुने


      २०७७ फाल्गुन ३, सोमबार १८:४६

झापा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापामा पहिलो खुला साइक्लिङ प्रतियोगिता हुने भएको छ ।   ‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ, भन्ने नाराका साथ जेनियम युवा क्लब धुलाबारीले साबिक मेची अञ्चलमै पहिलो पटक यही फागुन १५ गते ‘जेनियम साइक्लिङ च्यालेञ्ज २०२१’ प्रतियोगिता गर्न लागेका हुन । सोमबार बिहान बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराउँदै क्लबका अध्यक्ष धनराज थापाले स्थानीय युवाहरूको सक्रियता हुन गइरहेको यस प्रतियोगितामा दुई सय बढी प्रतियोगीले भाग लिने अनुमान गरिएको बताए ।

मेचीनगरस्थित धुलाबारीबाट सुरु हुने प्रतियोगिता शान्तिनगर, बहुँवन, तेलपानी, बौद्धमोड, बाहुँनडाँगी, काँकडभिट्टा, इँटाभट्टा हुदैं पुनः धुलाबारीमा आएर टुङ्गिने छ । यो यात्रा ४० किलोमिटरको हुनेछ । यात्रा पुरा गर्न कम्तीमा ७० देखि ९० मिनेट लाग्ने अध्यक्ष थापाले बताए । यस प्रतियोगितामा झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट महिला र पुरुष दुवै प्रतियोगीले भाग लिनेछ । यसको लागि आवश्यक तयारीसँगै प्रचारप्रसार तीव्र बनाइएको उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार, चौथोलाई ३ हजार, पाँचौलाई २ हजार र छैटौँदेखि दशौँसम्मलाई एक हजार नगदसहित ट्रफी र आवश्यक गिफ्टहेम्पर पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव राजेश प्रसाईँले जानकारी दिए । प्रतियोगितामा भाग लिने महिलाले यात्रा पुरा गरेको खण्डमा उचित पुरस्कारको व्यवस्था पनि गरिएको उनले बताए ।
निःशुल्क आवेदन दिन सकिने प्रतियोगितामा प्रतियोगीले अनिवार्य हेलमेट, सन ग्लास, स्पोट सुज, साईक्लिङ ड्रेस लगाउनु पर्ने र जुनसुकै साइकल प्रतियोगी आफैले ल्याउने पर्ने क्लबका कोषाध्यक्ष सञ्जय खड्काले जानकारी दिए । प्रतियोगितासम्म गर्न ५ लाख ९ हजार खर्च हुने अनुमान गरिएको छ ।

यसका लागि मेचीनगर नगरपालिका वडा नम्बर ९ र १० मुख्य प्रायोजक रहेको उनले बताए ।  देश र समाजका लागि केही योगदान पुर्याउने उद्देश्यले झापा धुलाबारीका युवाहरू सङ्गठित भई २०५९ सालमा जेनियम युवा क्लब गठन गरेको हो । यस क्लबले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेका छन् । क्लबले खेलकुद, संस्कृति, गीत–सङ्गीतको संरक्षण एवम् सम्बद्र्धन गर्ने, आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने एवम् जलवायु परिवर्तनका असरहरूबाट जोगाउँदै पर्यापर्यटनको संरक्षण गर्ने लगायतका कार्यहरू गर्दै आइरहेको जनाइएको छ । कार्यक्रमको सञ्चालन बुद्ध तामाङले गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु