‘यस्तो’ गल्ती कहिल्यै गर्दिनँ : प्रकाश दाहाल

प्रकाश दाहाल त्यतिबेला विवाहका कारण विवादमा परेका थिए । पार्टीले उनलाई कारवाही गरेको थियो र देश छोडेरै बाहिरिएका थिए । नयाँ दिल्लीमा बसिरहेका बेला घटना र विचारका सम्पादक बबिता बस्नेतसँग उनले गरेको कुराकानी २०६९ मंसिर ६ गतेको घटना र विचार साप्ताहिकमा प्रकाशित भएको थियो । प्रस्तुत छ, तात्कालीन अवस्थामा प्रकाश दाहालसँग गरिएको कुराकानी :

० निजी खुसीका लागि तपाईंले सार्वजनिक जीवन त्याग्न चाहनुभएको हो ?
– त्यस्तो होइन । किनकि, निजी जीवनमा खुसी नभई कुनै पनि व्यक्तिले सफलतातिर अग्रसरता पाउँछ जस्तो लाग्दैन । कुनै उच्च नेता वा व्यक्ति वा उनका परिवारको निजी जीवन हुन्न भन्नु नै गलत हो । सबैको निजी जीवन हुन्छ, फरक यति हो कि उनको जिम्मेवारी समाज र राष्ट्रप्रति बढी हुन्छ । मान्छेबाट नै गल्ती हुने हो तर त्यो गल्तीबाट डराएर झन् अर्को गल्ती गर्ने र भाग्नेभन्दा पनि त्यो गल्तीमा आत्मालोचित हुँदै त्यसबाट उचित पाठ लिएर सही बाटोमा अघि बढ्नु नै उपयुक्त हुन्छ र म पनि त्यही बाटोमा अघि बढिरहेको छु । मैले निजी खुसीका लागि सार्वजनिक जीवन त्यागेको भन्ने मलाई लाग्दैन ।

० तपार्इंको वैवाहिक जीवनलाई लिएर धेरैले खिल्ली उडाउने गरेका छन्, तर त्यसो हुनुमा तपाईंका आफ्नै कुराहरू होलान् नि, के छ त्यस्तो ?

– नेपाली समाजमा अति रुढीवादी र पुरातनवादीहरूको बाहुल्य रहेको जस्तो मलाई लागेको छ । वास्तवमा मैले पहिल्यै भनेजस्तो मेरो जीवनमा उतारचढाव आएको जस्तो देखिएको छ । त्यो उतारचढावलाई नेपालमा धेरैले धेरै किसिमले अतिरञ्जित तरिकाले व्याख्या गरेका छन् र मेरोबारे अनेकौँ अनेक चर्चा–परिचर्चा गरेका छन् । कहिले प्रकाश यस्तो कहिले प्रकाश त्यस्तो, यस्तो सुन्दा मलाई सारै दुःख र पीडाबोध हुन्छ । जसमा मेरो वैवाहिक जीवन पनि पर्छ, जुन कुरा हरेकको जीवनमा पर्न सक्ने कुरा हो । यस विषयमा यति भन्न चाहन्छु कि मैले कुनै रहर, चाहना वा इच्छाले यो गरेको छैन र यो मेरो नितान्त व्यक्तिगत कुरा हो । माओवादी त्यसमा पनि अध्यक्षलाई कतिबेला हानौँ भनेर बसेका स्यालहरूका लागि मात्र यो मुद्दा बनेको हो र त्यहीअनुसार यसलाई खिल्ली उडाउने काम गरिएको मात्र हो ।

० तपाईंकी पत्नी सिर्जनासँग त मागीविवाह नै भएको हो क्यारे, उहाँलाई छोडेर किन निस्कनुभयो त ?
– हो, सिर्जनासँग मेरो मागीविवाह भएको हो । मम्मी र मामाहरूले खोज्नुभएको रहेछ । वास्तवमा सिर्जनासँग विवाह भएर पनि हामीले त्यो वैवाहिक जीवनलाई सुमधुर बनाउन सकेनौँ । यसमा मेरो पनि गल्ती हुन सक्छ र सिर्जनाको पनि । जहाँसम्म म निस्कने कुरा छ, अति तनावमा भएको बेला मैले यहीँनेरको प्रक्रियामा गल्ती गरेँ । सिर्जनाको मलाई छोड्ने चाहना र माग हुँदाहुँदै मैले केही समय धैर्य गर्न नसकी यो प्रक्रिया अपनाएर गल्ती गरेँ ।

० अचानक विना मगर तपाईंको निकट हुनुभएछ, यस्तो निर्णय गर्नुपर्ने अवस्था किन आयो नि ?
– सगरमाथा चढेर फर्केपछि त्यहाँ चढ्नेमध्येका केही साथीले तिर्नुपर्ने ४० लाखको माग गर्नुभएको थियो र सगरमाथामा हुँदा पनि पार्टी र नेतृत्वप्रति अतिरञ्जित तरिकाले उहाँहरूको अभिव्यक्तिको खण्डन गर्थें । त्यहाँदेखि नै उहाँहरूले प्रकाशलाई कसरी हान्ने भनेर योजना बनाउन थालेका रहेछन् । बेसक्याम्पमा हुँदा मलाई प्रचण्डको छोरा भनेर कतिपयले विशेष महत्व दिन्थे तर उहाँहरूलाई आफूहरू सीसीएम र पीएलएका कमाण्डर भएर पनि वास्ता गरेनन् भन्ने लागेको रहेछ । त्यही पीडाबाट ग्रसित भएर योजनाबद्ध किसिमले एउटा साप्ताहिक पत्रिकालाई साथीहरूले गलत रिपोर्ट दिनुभयो । उहाँहरूले यो सोच्नुभएन कि यो रिपोर्टले कति गर्छ भन्ने । यति सोचेको भए साप्ताहिक पत्रिकाभन्दा अध्यक्ष प्यारो लागेर उहाँलाई कुरा राख्न सक्नुपथ्र्यो । यही रिपोर्टका कारण सिर्जनाले ‘बाबुको कसम म अब आउँदिनँ, सम्बन्ध छैन’ भनेर गएपछि म त अप्ठ्यारोमा परिहालेँ । विनाजीकोमा पनि यस्तै भएको रहेछ । यस घटनाले हामी नजिक भएका हौँ ।

० अहिले तपाईं कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ?
– अहिले म इन्डियामा छु र केही पुस्तक किनेको छु । प्रायः समय त्यसलाई अध्ययन गर्दै बिताउँछु । कोठामा इन्टरनेट लगाएको छु, पत्रपत्रिका हेर्न सामाजिक सञ्जालमा कुरा गर्न सजिलो भएको छ । यसैगरी बितिरहेछ ।

० भविष्यमा के गर्ने विचार छ नि ?

– म राजनीतिभन्दा बाहिर वा पृथक कदापि हुन सक्दिनँ ।

० तपार्इं सानैदेखि राजनीतिक माहोलमा हुर्किनुभएको मान्छे, अहिले एक्कासि त्यो माहोलबाट अलग हुनुपर्दा कस्तो महसुस भइरहेको छ ?
– अहिले बाहिरबाट हेर्दा आफूलाई पृथक पाउने गरेको छु । केही गर्न सक्दैन प्रकाशले भन्थे तर मैले केही समय काम पनि गरेँ । त्यो अनुभव पनि बटुलेँ जसको मलाई छेउटुप्पो थाहा थिएन । तैपनि व्यक्तिगत रूपमा राजनीतिभन्दा बाहिर देखिए पनि मेरो मन–मस्तिष्कभित्र राजनीति चौबीसै घण्टा घुमिरहेको छ र म आफूलाई राजनीतिभन्दा बाहिर छुजस्तो लागेको पनि छैन । म राजनीतिक किताबहरू अध्ययन गर्छु अन्य किताबहरू पनि अध्ययन गरिरहेको छु, मलाई त्यस्तो लाग्दैन ।

० नेपाल कहिले फर्कनुहुन्छ त ?
– सबै चिजको एउटा समय हुन्छ । यो समयमा मैले धेरै चिजहरूको ज्ञान हासिल गरेको छु । सम्भवतः छिट्टै आउनेछु ।

० तपाईंलाई सबैभन्दा बढी माया कसको लाग्छ ?
– म माओवादी पार्टीको सदस्य भएको हुँदा सबैभन्दा बढी माया आफ्नो पार्टी र अध्यक्षको लाग्छ । म कसैको छोरा भएको हुँदा आमाबुबाको नै बढी माया लाग्ने गर्दछ ।

० सबैभन्दा बढी आदर/सम्मान कसलाई गर्नुहुन्छ नि ?
– म प्रायः आफूभन्दा ठूलालाई आदर गर्दछु, त्यसमा पनि हाम्रो पार्टीका अध्यक्ष क. प्रचण्ड मेरो आदर्श हुनुहुन्छ । उहाँ नै सबैभन्दा मेरो आदर र सम्मानको पात्र हुनुहुन्छ ।

० साथीभाइ या आफन्तसँग सम्पर्क छ कि छैन ?
– निश्चय नै म फेसबुक चलाउँछु, मलाई न्यास्रो लाग्छ । साथीभाइहरू, आफन्तहरूसँग कुराकानी हुन्छ । मेरो दुःखपीडा पोख्छु, सम्झाउनुहुन्छ, नेपाल आउनु भन्नुहुन्छ । सबैमा हुने कुरा हो भन्नुहुन्छ । सान्त्वना पाउँछु, सुझाव पाउछु, खुसी लाग्छ ।

० परिवारसँग सम्पर्क कसरी भइरहेको छ नि ?
– जति गल्ती गरे पनि आमाको मन भनेको आमाकै हुँदोरहेछ । म मेरी आमासँगको सम्पर्कभन्दा बाहिर छैन ।

० जीवनको सानै उमेरमा धेरै कुरा भोग्नुभो, साथीभाइ आफन्तजस्ता कुराहरूले जीवनमा के अर्थ राख्दो रहेछ ?
– समय र परिस्थितिले सबै चिज उब्जाउँदो रहेछ । मेरो जीवनमा त्यस्तै परिस्थिति आइप¥यो । साथीभाइ, आफन्त जीवनमा नभइनहुने जीवनको परिपूरक वस्तु हुन् जुन प्रत्यक्ष रूपमा अहिले मिस गरिरहेको छु ।

० खासमा जीवन आफैंमा के रहेछ ?
– पहिला नै भनिसकेँ, जीवन एक सङ्घर्ष हो र उतारचढाव र घुम्तीहरूले भरिएको एउटा सुन्दर गोरेटो हो ।

० तपार्इं दीनदशामा विश्वास गर्नुहुन्छ ?
– म दीनदशा, भगवान् इत्यादि धर्मकर्मप्रति विश्वास गर्दिनँ । मलाई मेरो पार्टी र परिवारले यही सिकायो । तर, म अरू सबै धर्मको सम्मान गर्छु ।

० यो वर्ष एक मात्र छोराले घर छोडेर हिँड्यो, यसैपालि बाबुले नेतृत्व गरेको पार्टी फुट्यो, सार्वजनिक स्थलमा झापड आइप¥यो, प्रचण्ड–परिवारलाई के भएको हो यो ?
– बुबाले धेरै बचाउन खोज्दा पनि पार्टी फुट्यो । तर, त्योभन्दा दुःख फुटेर जाने नेताहरूले बुबामाथि भए–नभएको झुटा आरोप लगाए । जो अहोरात्र राष्ट्र, पार्टी, जनता भनेर सबै आफ्नो व्यक्तिगत कुरा त्यागेर लाग्नुभयो, उहाँमाथि आरोप लगाउँदा दुःख लाग्छ । अब भाग नमिलेर लोभीपापी गए भन्दैमा त्यति दुःख लाग्ने कुरा आउँदैन । अर्को मैले छोडर हिँडेको देखिए पनि पछि अध्यक्ष क. प्रचण्डको सदा सहयोगमै जीवन फाल्नेछु, यो मेरो प्रतिज्ञा हो । तेस्रो, मङ्सिर १ गते बुबामाथि जे भयो त्यसबाट म साह्रै दुःखी छु र रोइरहेको छु । मलाई पीडा भएको छ, उहाँसामु उपस्थित भएर रुनसमेत पाइनँ । त्यो षडयन्त्रकारी योजनाकारीहरूसँग मुकाबिला गर्न सकिरहेको छैन । त्यत्रो जनयुद्धकालभरि साथ हुने म अहिले यो अवस्थामा साथ नहुँदा साह्रै दुःख लागेको छ । छिट्टै नै कसको योजनामा बुबामाथि हात हालियो यो बाहिर आउनेछ र जनताले ती योजनाकारलाई नाङ्गेझार पार्नेछन् भन्ने लागेको छ ।

० तपाईं परिवारको एउटै छोरा, हाम्रोजस्तो पितृसत्तात्मक समाजमा छोराको महत्व ठूलो छ, बाबु–आमाप्रतिको कर्तव्य कसरी निर्वाह गर्नुहुन्छ ?
– म परिवारको एउटै छोरा भए पनि तीन दिदीहरू हुनुहुन्छ । मेरो परिवार राजनीतिक परिवार मात्र नभएर उत्पीडित वर्गीय, जातीय, लिङ्गीय र समुदायको मुक्तिको खातिर क्रान्तिको नेतृत्व गर्ने परिवार भएको हुँदा छोरा र छोरीमा समान व्यवहार र समान अपेक्षा हुनु स्वाभाविक हो । यसो भनिरहँदा परिवारको अपेक्षा ममाथि कम छ भन्न खोजेकोचाहिँ बिलकुल होइन । म परिवारको एउटा सन्तान भएको हुँदा बुबाआमाप्रतिको कर्तव्य निर्वाह गर्न मैले आफूलाई जुन जनताको निम्ति सर्वहारावर्गको मुक्तिको निम्ति समर्पण हुनु नै मेरो पारिवारिक कर्तव्य हो जस्तो लाग्छ र म त्यही गर्छु ।

० तपाईं एउटा बच्चाको बाबु पनि होइन र ? उसप्रतिको कर्तव्य ?
– म एउटा बच्चाको बाबु पनि हो र बाबुको जति कर्तव्य बच्चाप्रति हुनुपर्छ मबाट हुनेछ ।

० प्रचण्डजस्ता नेताको छोरा हुनुमा तपाईंलाई गर्व त होला, तर त्यही कारणले बढी दुःख पनि झेल्नुप¥यो जस्तो लाग्दैन ?
– मलाई दुःखभन्दा पनि गर्व नै बढी लाग्दछ । त्यस्ता जो पार्टी र अध्यक्षलाई नङ्ग्याउन र भलो देख्न नचाहने, देश विकास भएको देख्न नचाहनेले ममाथि लगाउने आरोप हो जो इतिहासकालदेखि त्यस्ता केही व्यक्तिले जरा गाडेर बसेका छन् । सही बाटोमा हिँड्नु काग कराउँदै जान्छ पिना सुक्दै जान्छ ।

० परदेशमा रहँदा सबैभन्दा बढी घरको सम्झना कस्तो बेलामा आउँदोरहेछ ?
– आफ्नो घरपरिवारको सम्झना नआउने शायद कुनै त्यस्तो पल होला, झन् यो अवस्थामा । हरेक अवस्थामा आउँदोरहेछ, मङ्सिर १ को घटनाले कतिबेला बुबालाई भेटुँ भएको छ ।

० जिन्दगीमा सबैभन्दा बढी दुःख र खुसी तपाईंलाई के कुरामा छ ?
– जिन्दगीमा अनेकौँ यस्ता दुःख र खुसीका घडीहरू आए । तैपनि मलाई साह्रै दुःख लागेको जो व्यक्ति निस्वार्थ भावले आमूल परिवर्तनमा लागेको छ जसको सफल नेतृत्वले गर्दा देशमा गणतन्त्र आएको छ त्यसमाथि यस्तो व्यवहार देख्दा दुःख लाग्छ । जब म पार्टी र जनताको सेवामा पुनः समर्पित हुनेछु त्यो बेला मेरो जीवनको सबैभन्दा खुसीको पल हुनेछ ।

० अन्त्यमा, तपाईंका विषयमा रुचि राख्नेहरूका लागि के भन्नुहुन्छ ?
– अहिले मैले चालेको कदम र मेरो अवस्थाले धेरै कमरेड, मित्र र जनतालाई निराश तुल्याएको ठानेको छु । जुन अवस्थामा अध्यक्षको सहयोग गर्नुपर्ने हो त्यही बेला मेरो सहयोग नरहनुको कारण पनि मलाई दुःख लागेको छ । गल्तीबाट ठूलो पाठ अहिले सिकिसकेको छु । अब आइन्दा यस्तो हुने छैन र तपाईंहरू सबैलाई दुःखी तुल्याउने छैन भन्ने अठोट पनि सबैसामु राख्न चाहन्छु । आफूलाई रूपान्तरण गर्दै सर्वहारा वर्गीय आन्दोलनमा नयाँ सिराबाट आफ्नो भूमिका निर्वाह पनि गर्ने नै छु । घटना र विचार बाट

Facebook Comments