प्रदेश नं. १ नाम एमाले नेता एवं प्रदेश सभा सदस्य हिक्मत कार्कीले यसरी जुराए

एमाले नेता एवं प्रदेश सभा सदस्य हिक्मत कार्की मुख्यमन्त्रीका दाबेदार हुन् । स्पष्टवक्ता समेत रहेका कार्की अहिले चर्चाको शिखरमा नै रहेकाछन् । उनले नयाँ पेज अनलाइनलाइ दिएको अन्तरवार्ता समावेश गरेका छौ ।

निर्वाचित भएको यति लामो समय वितिसक्दा पनि सपथ समेत खान पाउनु भएको छैन, बैठक अनिश्चित छ । दिक्क लागिसक्यो होला है ?
वास्तवमा नेपालको राजनीतिक नेतृत्वको व्यवस्थापकीय कमजोरीको पछिल्लो घटना क्रममध्ये एक महत्वपूर्ण घटना यो हो भन्ने लाग्छ । निर्वाचन परिणाम आएको २९ गते ठयाकै एक महिना भइसक्यो । यो बीचमा केन्द्र–प्रदेश सरकार बनेर पनि केही महत्वपूर्ण निर्णयहरु लिइसक्नु पर्ने थियो । हाम्रो निर्वाचन परिणाम पनि औपचारिक रुपमा दिन सकिरहेका छैनन् । हामी जुन उत्साहका साथ सहभागी भयौ, नेपाली जनताले संविधान कार्यान्वयनका लागि उत्साहका साथ मतदान गरे । अनि जनादेश दिए । तर, यसलाई पनि होच्याउने गरी गतिविधि गरिहेका छौं । यो नेपालको संविधान, लोकतान्त्रिक अभ्यासका लागि विडम्बना भन्नुपर्छ । नेपालको राजनीतिक घटनाक्रमले सबै कुरा समय घर्केपछि गर्ने देखिएको छ । यो चलन जस्तो नै बनेको छ । अब चाँडै निष्कर्ष निस्केला । नेपाली जनताले अलिकति प्रश्न र व्यङ«ग्यसँगै नेतृत्वप्रति नै अविश्वास गर्न थालेका छन् । यसलाई नेतृत्वले चिनेर बैलैमा सहि निर्णयमा पुग्न आवश्यक छ । यसले दूरगामी असर पार्न सक्छ । यसलाई नेतृत्वले चाँडै बुझनु पर्छ ।

प्रदेशसभाका सदस्यहरुलाई काठमाण्डौंमा नै सपथ खुवाउने भनिंदैछ, प्रदेशसभा सदस्यको नाताले यसलाई कसरी लिनु भएको छ ?
काठमाण्डौंमै सपथ खुवाउनु संविधान कार्यान्वयनको उपहास हो । हामीले हिजो के भनेका थियौं भने–‘केन्द्रीकृत रुपमा रहेको काठमाण्डौं सिंहदरबारभित्र सम्पूर्ण जनताको पुगेन । त्यसैले गर्दा तीन तहको संरचना निर्माण गर्नुपर्छ । जसमा केन्द्रले नीति निर्माणको काम गरोस्, प्रदेशले प्रदेशको विकास–निर्माणको अगुवाइ गरोस् यस्तै स्थानीय तहले स्थानीय निकायको विकास गरोस् ।’ संविधानमा पुनर्संरचना गर्यौं । यसलाई कार्यान्वयन गर्ने बेला काठमाण्डौंमा सपथ खानु–खुवाउनु भनेको विडम्बनापूर्ण कुरा हो । यसले संविधान र संघीयताको स्पिरिट बोक्न सक्दैन । उपहास हुन्छ । यसले जनतामा संविधान र संघीयताप्रति नै वितृष्णा जगाउने काम गर्छ । यसबाट सबै राजनीतिक दलका नेता सचेत रहन आवश्यक छ ।

तपाईले प्रशिक्षित गरेका अथवा तपाईभन्दा पछि अखिलको राजनीतिमा आएका नेताहरु प्रतिनिधिसभामा विजयी भएर आउँदै गर्दा तपाईले प्रदेशसभा रोज्नु भयो । आखिर किन ?
-मेरो व्यक्तिगत जीवनका लागि महत्वपूर्ण प्रश्न गर्नुभयो । वास्तवमा नेपालको राजनीतिमा म पढाइको प्रारम्भिक समयदेखि नै होमिएको मान्छे हुँ । मेरो समकालीन साथीहरु योपल्ट मात्र होइन् विगतमा पनि प्रतिनिधिसभामा आएर मन्त्री समेत बनिसकेका घटनाहरु छन् । यसले मेरो मनभित्र दुई वटा प्रश्न उब्जाउने गर्छ । म लागेको मुभमेन्टमा र मैले नेतृत्व गरेको मुभमेन्टमा केहि मेरो समकालीन साथीहरु र मैले सिकाएका जुनियर साथीहरु विभिन्न जिम्मेवारी लिंदै हुनुहुन्छ, यो मेरो सफलता र गर्व गर्ने विषय हो । अर्को, मेरो व्यक्तिगत जीवनमा प्रश्न गर्दै केहिले ती मान्छेहरु तपाई भन्दा धेरै अगाडि पुगे नि भनेर प्रश्नचिन्ह् खडा गर्छन् । तर मैले यसलाई अलि फरक ढङ्गले हेर्ने गरेको छु । किनकी म भन्दा जुनियर भाइ–बहिनी म भन्दा अघि मात्र छैनन्, म भन्दा अघिका साथीहरु पनि म भन्दा पछि पनि त हुनुहुन्छ । त्यसैले यसलाई मैले सन्तुलनको रुपमा बुझ्ने गर्छु । मैले यसैमा सन्तोष गरेको चाहीं होइन् ।

कहिलेकाहीं मलाई पनि मैले पनि प्रगति गर्नुपर्छ भन्ने लाग्छ । तर, अहिले पनि हिनताबोध हुने गरी पछाडि छु भन्ने महसुस गरेको छैन । म रोजेर नै प्रदेशमा गएको हुँ । विद्यार्थी जीवनकालमा पनि मैले निर्वाचन जितेर स्वावियु सभापति भएँ । विद्यार्थीकालमा पार्लियामेन्ट अभ्याससँग मिल्दा–जुल्दा धेरै काम गरेको छु । यसको अनुभव मसँग छ । तर, संसदीय हिसाबमा चाहीं म पहिलो अनुभवका लागि त्यहाँ गएको छु । राज्यको पुनर्संरचनापछि तीन तह भयो । केन्द्र, प्रदेश र स्थानीय तहमा राज्य संरचना गईसकेपछि भने म न्यू कमर हुँ । मेरो राजनीतिमा अझै २०/२५ वर्ष बाँकी छ । त्यसो हुँदा मैले के पनि सोचे भने हिजो केन्द्रीय पार्लियामेन्टमा रहेका साथीहरु केन्द्रीय पार्लियामेन्टमा जानु हुन्छ । प्रदेशको पार्लियामेन्ट हाँक्न तथा सञ्चालनका लागि मुख्यमन्त्री हुन योग्य साथीहरु लामो आन्दोलनले उभिएको व्यक्तित्व हुनुपर्छ । म पनि कतै त्यसको लागि योग्य छु । म सक्छु भन्ने हिसाबले मैले रोजेको ठाउँ पनि हो । त्यसैले हिनताबोध भन्दा पनि गर्व साथ काम गर्ने ठाउँमै छु ।

निर्वाचित सांसदहरुले धमाधम मुख्यमन्त्रीको दाबी गरीरहेका छन्, तपाईको चाहिँ दाबी छैन ?
यसलाई सुनिने गरी नआएको आवाज सकिन्छ । वास्तवमा यी कुरामा ल्याउने सामाजिक सञ्जाल र मिडियाहरु नै हुन् । मान्छे जो पनि सिनियर पोष्टतिर नै जान चाहन्छ । यस सबैको चरित्र नै हो । तर, मैले यहि चाहिन्छ भनेर भनेको छैन् । प्रदेश नम्बर–१ को सन्दर्भमा हामी निर्वाचित भएका ९३ सदस्यमध्ये म राजनीतिक रुपमा अगुवामै पर्छु । प्रदेशसभा जित्ने ५१ जनामध्ये म पार्टीको केन्द्रीय सदस्य पनि हुँ । केही साथीहरु जिम्मेवारीको हिसावले म भन्दा पदीय अघि पनि हुनुहुन्छ । तर, उहाँहरु पनि आमरुपमा एउट मुभमेन्ट र अभियानमा लाग्नु भएको मान्छे हुनुहुन्छ । त्यसकारण त्यो ठाउँको लागि म आफूलाई पनि योग्य नै सम्झिन्छु ।

अहिले कस्तो भईरहेको छ भने मुख्यमन्त्रीका लागि योग्यताबारे पूरा जानकारी दिन–लिन सकिएको छैन । जसका कारण आ–आफ्नै हिसावमा प्रचार–प्रसार भइरहेको छ । मैले के भनिरहेको हो भने–पार्लियामेन्टभित्रका आगामी पाँच वर्षभित्र के–के काम गर्छौ भनेर प्रस्ताव मागिए म पनि योग्य प्रस्ताव दिन सक्छु । र, म मुख्यमन्त्री राम्रैसँग चलाउनु सक्छु भन्ने लाग्छ । मैले त्यो ढङ्गको दावी गरेको छु । मलाई केन्द्रीय कमिटीले जिम्मेवारी दिएको खण्डमा पूरा गर्न सक्छु । तर, मलाई यहि पद नै मेरो जीवनको अभिष्ट हो भन्ने चाहीं लागेको छैन् । पार्टी, संसदीय क्षेत्रले दिएको जिम्मेवारी महत्वपूर्ण रुपमा निर्वाह गर्न सक्छु भन्ने मेरो दावी छ । मेरो दावी यहि पद (मुख्यमन्त्री) नै भन्ने छैन । तर, मुख्यमन्त्री भए चलाउन चाहीं सक्छु । तर, पार्टीले जुन भूमिकामा बस भन्छ, पार्टीको अगुवा सिपाहीको रुपमा भूमिका निर्वाह गर्छु ।

भनेपछि तपाई पनि मुख्यमन्त्रीको लागि इच्छुक हुनु हुन्छ ?
इच्छा नहुने भन्ने कुरै हुँदैन । यदि पार्टीले जिम्मेवारी दिएको खण्डमा कुशलतापूर्वक जिम्मेवारी पूरा गरेर पार्टीको प्रतिष्ठा, नेपाली जनताको विकास निर्माणको चाहना, हाम्रो पार्टीका घोषण–पत्रका घोषित कुराहरु, प्रदेश नम्बर–१ का विकास–निर्माणका सवालहरुमा अरु साथीहरु जतिकै काम गर्न सक्छु । प्रदेश नम्बर–१ मा मेरो पनि दावी हो ।

प्रदेश नम्बर–१ मा पार्टी सचिव तथा प्रदेश नम्बर–१ का पार्टी संयोजक भिम आचार्य र प्रदेश नम्बर–१ का सह–संयोजक तथा पूर्व सञ्चारमन्त्री शेरधन राईले जोडदार दाबेदारी दिईरहनु भएको छ । यसमा तपाईको मत के छ ?
उहाँहरु दुबै जनाले केन्द्रीय पार्लियामेन्टमा दुई–दुईपल्ट प्रतिनिधित्व गर्नु भएको छ । साथै मन्त्री समेत भईसक्नु भएको छ । उहाँहरुको योगदान र अनुभव राम्रै छ । उहाँहरुको दावी चर्को नै छ । उहाँहरुले आफ्नो नाम टुङ्गमो पु¥याउनु भयो भने मेरो पनि समर्थन छ । तर, उहाँहरुले केन्द्रीय पार्लियामेन्टको अनुभव संगालीसकेको हुँद त्यो ठाउँ हामीलाई दिंदा हुन्छ भन्ने भनाइ मेरो हो । मेरो पार्टी स्थायी कमिटी तथा मेरो आग्रह के छ भने, यो दावेदारी माथि टुङ्ग्याएर आउनुहोस् दुई जनामध्ये एक जना स्विकार्य छ । यदि दुबै जनाले छोडेर हामीलाई दिनु हुन्छ भने हामी जिम्मेवारी पूरा गर्न तयार छौं । यो कुरा उहाँहरुसँग पनि गरेको छु ।

मुख्यमन्त्रीमा त अन्य नेताहरुको जस्तो कडा दावी रहेनछ, तर मन्त्रीमा त होला नि ?
यहि मात्र मेरो अभिष्ट हो भन्ने होइन् । मन्त्रीमा पनि दावी छैन । तर, मेरो दावी भनेको मुख्यमन्त्री दिंदा चलाउन सक्छु भन्ने चाहीं हो । मुख्यमन्त्री र संसदीय दल नदिएर अन्य जिम्मेवारी दिए पनि चलाउन सक्छु भन्ने कुरा हो ।

अहिले प्रदेशसभा राजधानीको विषयमा चर्को आन्दोलन भईरहेको छ । धनकुटाले ३ महिनादेखि आन्दोलन गरिरहेको छ । यस्तै धरान, सुनसरी र विराटनगरको पनि असन्तुष्टि छ । तपाईलाई यी ठाउँमध्ये कुन चाहीं उपयुक्त होला जस्तो लाग्छ ?
-निर्वाचनअघि त म भन्ने सक्थे । तर, अहिले प्रदेश सभाको सदस्य छु । त्यसैले प्रदेशसभाको दुई तिहाइले राजधानी र नाम टुङ्गो लगाउनु पर्छ । अहिले उठेका चार ठाउँमध्ये धनुकटा पूर्वाअञ्चल विकास क्षेत्रको सदरमुकाम र प्राकृतिक रुपमा सुन्दर ठाउँ हो । उहाँहरुको दावी पनि तर्कपूर्ण छ । यस्तै धरान– इटहरी र नेपालकै दोस्रो ठूलो शहर विराटनगरको दावी पनि तर्कपूर्ण नै छ । अहिले गोठगाउँको नि राजधानीको रुपमा चर्चा छ । यी ठाउँ मात्र उपयुक्त भन्ने होइन् । म झापाबाट जितेर आएको छु । मैले जितेरै आएको ठाउँमा पनि दुई-चार सय रोपनी जग्गा दिएर राजधानी राख्न सकिन्छ । तर, मैले त्यो भनेको छैन् । म के भन्न चाहन्छु भने– यी चार ठाउँमध्ये मागदावी ठिकै होलान् । तर, यो विषय सहमति र समझदारीमा जाने विषय हो । यी चार ठाउँमध्ये एक ठाउँ मात्र राजधानी तोकिन्ने हो । त्यसकारण सम्भावना र सबैका लागि पायक ठाउँ हेरिनु पर्छ । ब्याक हुने आन्दोलन गर्नुको औचित्य छैन । अन्य ठाउँ साथीहरु आजको यथार्थलाई बुझेर स्विकार गरेर जानुपर्छ र जानु हुनेछ भन्ने विश्वास छ ।

पहिलो संविधानसभाको चुनाव विघटन हुँदै गर्दा प्रदेशको नामका विषयमा चर्को बहस भएको थियो । दलहरु विभाजित भएका थिए । अब प्रदेश नम्बर–को १ नाम के हुनुपर्छ ?

नामका विषयमा छलफल गर्दै गर्दा विभिन्न कोणबाट विभिन्न नामहरु आउन सक्छन् । मैले यो प्रदेशलाई यहि महत्वको प्रदेशको रुपमा लिएको छु । यद्यपि, अरु प्रदेश कम महत्वका भनेको होइनन् । म यहि प्रदेशको बासिन्दा र पार्लियामेन्ट सदस्य भएकाले पनि यो प्रदेश भाग्यमानी प्रदेश हो । विश्वको अग्लो शिखर सगरमाथादेखि नेपालको होचो भू–भाग केचनासम्म यहिं छ । यस्तै अर्को महत्वपूर्ण सप्तकोशी क्षेत्र, उत्पादन क्षेत्र, प्राकृतिक हिसाबले मनोरम तथा साँस्कृतिक विविधता छन् । यो क्षेत्रमा धेरै नामहरु प्रस्ताव हुन सक्छन् । विराट प्रदेश, किरात प्रदेश, कोचिला प्रदेश आउन सक्लान् । तर, सबैले मान्ने, गर्व गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथा नै पहिलो प्राथमिकतामा हुनुपर्छ भन्ने लाग्छ । यद्यपि, यो बहसको विषय भएकाले धेरै भन्न चाहन्न । यस्तै नेपालको सबैभन्दा धेरै फैलिएको सप्तकोशी नदीबाट सप्तकोशी प्रदेश, तेस्रो कञ्चनाजंघा प्रदेश पनि प्राथमिकतको आधारमा राख्न सकिन्छ । सबैले समानरुपमा मान्ने चाहीं सगरमाथा प्रदेश हुनसक्छ भन्ने लाग्छ ।

Facebook Comments