‘विद्युतीय सवारीको क्रान्तिले यातायात लागत घटाउँदै

पछिल्लो समय विश्वमा विद्युतीय सवारीको क्षेत्रमा क्रान्ति नै आएको छ । यसले यातायातमा लाग्ने लागत ४० प्रतिशतसम्म घटाउनुका साथै कार्बन उत्सर्जनलाई पनि शून्यबराबरमा झारेर शहरी विस्तारमा क्रान्ति ल्याउने विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)ले एक प्रतिवेदनमा बताएको छ ।

‘स्मार्ट शहरका लागि विद्युतीय सवारी : ऊर्जा र गतिशीलताको भविष्य’ शीर्षकको प्रतिवेदनमा यस्तो भनिएको छ । विद्युतीय गतिशीलतामा नयाँ दृष्टिकोण ल्याउन स्वचालन र साझा गतिशीलता, ऊर्जा प्रणालीको डिजिटलाइजेशन र विकेन्द्रीकरणको आवश्यकता रहेको प्रतिवेदनमा भनिएको छ ।

विद्युतीय सवारीको प्रयोगले हावाको गुणस्तरमा सुधार आउने र नयाँ रोजगारीको पनि सृजना हुने कुरामा जोड दिँदै यसले मानव स्वास्थ्यमा फाइदा पुग्ने प्रतिवेदनमा भनिएको छ । यसका साथै यसले सन् २०३० सम्म सामाजिक कल्याणका लागि ६ खर्ब ३५ अर्ब डलरबराबरको आर्थिक उत्पादन गर्ने बताइएको छ ।

‘गतिशीलता र ऊर्जा रणनीतिको समायोजनले शहरहरूको आर्थिक तथा सामाजिक गतिशीलताको फाइदा बढाउन सहयोग गर्नुका साथै स्थायित्व, विश्वसनीयता र उपभोक्ताको छनौटमा वृद्धि सुनिश्चित गर्न सक्छ,’ डब्ल्यूईएफका कार्यकारी कमिटी सदस्य तथा इनर्जी एण्ड बेसिक इण्डष्ट्रिजका प्रमुख रोबर्ट बोकाले भने । डब्ल्यूईएफले सरकारी सहयोगका साथै विद्युतीय सवारीमा आएको विस्तारलाई उदाहरणका रूपमा लिएर यो प्रतिवेदन तयार पारेको हो । रासस

Facebook Comments