हिजो विचार मिल्दैनथ्यो, बाटो मिल्दैनथ्यो अब अलगअलग रहनुपर्ने अवस्थामा छैनौं-इश्वर पोखरेल

नेकपा एमालेका महासचिव तथा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिका सदस्य इश्वर पोखरेललेपार्टी एकताका बारेमा मिडियामा सार्वजनिक गरेको कुराले गत साता राजनीतिक बहस निम्त्यायो । उनलाई कतिपयले पार्टी एकताबिरोधी समेत भने । यद्यपी पोखरेले विजयी भएको काठमाडौं क्षेत्र नम्बर ५ को बधाई कार्यक्रममा भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै पुगेर सम्बोधन गरे ।

नेता पोखरेलले एकतापछि संगठनको संरचना र सरकारबारे व्यक्त गरेका धारणाबारे विवाद सिर्जना भएपनि नयाँ अन्तर्वार्तामा भने पोखरेलले गत असोज १७ गते घोषणा भएको पार्टी एकता संयोजन समितिको नीतिगत आधारमा टेकेर एकता प्रक्रिया अघि बढने बताए । प्रस्तुत छ, कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्ताका केही अंश

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताचाहिँ कहिले र कसरी हुन्छ ?

असोज १७ गतेको घोषणामा एकताका आधारभूत नीति उल्लेख छन् । त्यही आधारमा अघि बढ्ने हो । त्यसमा केही संरचनागत व्यवस्था पनि छ । पार्टी एकता संयोजन समिति बनेको छ । अब त्यसमा हामी केन्द्रित हुन्छौं । १७ गते जारी भएको एकताको नीतिगत आधारमा अब संगठनको व्यवस्थापन गर्नुपर्नेछ । हामी दुवै पार्टीका आआफ्ना संगठनात्मक ढाँचा छन् । अब एकताको कुरालाई मूर्तरूप दिन नयाँ ढंगले संगठनात्मक स्वरूपबारे निर्णय गर्नुपर्नेछ ।

विशेष गरी प्रधानमन्त्री, पार्टी अध्यक्ष र राष्ट्रपतिजस्ता केही मुख्य पद छन् । ती पदमा ककसलाई पठाउने गरी पदीय बाँडफाँट गरिन्छ ?

यो विषयमा प्रमुख नेताहरूको बीचमा केही भएको छ कि, त्यो थाहा भएन तर हामीले संस्थागत ढंगले छलफल गरेका छैनौं । हामीसँग विभिन्न खालका अनुभव छन् । एउटा कार्यविभाजनका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने मोडल छ । अर्को मोडलचाहिँ बहुकेन्द्र हो तर त्यो हँ‘ुदा झन्झट र समस्या पनि आउँछन् । हाम्रोजस्तो मुलुकमा धेरै कुरा संस्थागत संरचनामा नभएका कारणले अभ्यास गर्दा कठिनाइ र समस्या सिर्जना हुन सक्छ । मेरो विचारमा ‘मल्टी–सेन्टर (बहुकेन्द्र­) हुने स्थिति रहन दिनु हुन्न । ‘मल्टी–सेन्टर’ होइन, ‘सिंगल सेन्टर’ हुने गरी जाँदा पनि हुन्छ । अब हामी हाम्रो सन्दर्भमा के गर्दा ठीक हुन्छ, त्यो गर्न सक्छौं तर एमालेको अहिलेसम्मको अनुभवमा पार्टी अध्यक्ष संसदीय दलको नेता हुने र प्रधानमन्त्री पनि उहाँ नै हुने अभ्यास छ । त्यसैले विगतका यी हाम्रा अनुभव र अरू ठाउँका अनुभव अगाडि राखेर छलफल गर्नुपर्छ तर म के भन्छु भने कुनै एउटा ‘हार्ड एन्ड फास्ट पोजिसन’ बनाएर कुरा गर्नु उचित हँुदैन । जब हामी एउटा ठूलो मिसनको कुरा गर्दै छौं, पार्टी एकता गर्ने कुरा गर्दै छौं, यो एकता देशको आवश्यकता, कार्यकर्ता, जनताको चाहना हो भन्दै छौं भने निश्चित विषयमा ‘पोजिसन’ बनाएर बहस गर्नु हँुदैन ।

दुइटा पृष्ठभूमिबाट हुर्किएका दलहरू मिल्दा त पद र अधिकार बाँडफाँट पक्कै हुन्छ नै, चुनावअघि नै अनौपचारिक रूपमा यी पदमा आन्तरिक समझदारी भइसकेको सुनिन्छ नि ?

हाम्रो बीचमा त्यो विषयमा केही छलफल भएको छैन । कहीं अनौपचारिक ढंगले केही भएको थियो भने त्यो मैले बुझेको छैन ।

गठबन्धन बनाउने समयमै एउटा दलको अध्यक्ष प्रधानमन्त्री र अर्को दलको अध्यक्षले पार्टीको नेतृत्व गर्ने भन्ने कुरा बाहिर आएको थियो । ती सबै हावादारी कुरा मात्र थिए त ?
ती कुरा कसरी आए, मलाई थाहा भएन । च्याट्ट एउटाले सरकार र एउटाले पार्टीको नेतृत्व गर्ने भन्ने कुरा त्यति हल्का ढंगले प्रमुख नेताहरूले कुरा गर्नुभयो भन्ने मलाई लाग्दैन । म फेरि पनि भन्छु, अलगअलग अनुभवको विश्लेषण गरेर केचाहिँ बढी फलदायी हुन्छ, कुन विधिचाहिँ जोखिमयुक्त हुन्छ, त्यसमा ख्याल गर्नुपर्छ । पहिल्यै ‘पोजिसन’ बनाएर कुरा गर्नु हुँदैन ।

चुनावअघि ६० र ४० को अनुपातमा भागबन्डा गर्नुभएको थियो तर चुनावी परिणामचाहिँ ७० र ३० प्रतिशतको अनुपातमा आयो । अब दुई पार्टीबीचको पदीय संरचनाको बाँडफाँट चुनावअघिको कि पछिको अवस्थाअनुसार गर्नुहुन्छ ?

चुनावको सन्दर्भमा हामी ६० र ४० भनेर उदारतापूर्वक निष्कर्षमा पुगे पनि व्यवहारत: त्यति न्यायोचित थिएन भनेर परिणामले देखाएको हो कि ? हामी वर्तमानमा उभिएर भविष्यतर्फ जानुपर्छ, अतीतमा उभिएर होइन ।

यसको अर्थ चुनावी परिणाम जस्तो अनुपातमा आयो, त्यहीअनुसार पदीय संरचना मिलाउनुपर्छ भन्ने हो ?

हामीले यो विषयमा केन्द्रित भएर छलफल गरिसकेका छैनांै । अब पार्टी एकता गर्दा कुन आधारमा उभिने भन्नेबारे छलफल गर्दा यी प्रसंग तथ्यका विषय हुन सक्छन् ।

कतिपय व्यक्तिलाई अचानक भएजस्तो लाग्छ तर त्यस्तो होइन, एकताको कुरा चलिरहेकै थियो । त्यो प्रक्रियाले एउटा रूप लिन पाएको थिएन । अहिले परिस्थितिले च्याप्दै ल्यायो र दुवैलाई एकता आवश्यक छ भनेर बोध भएपछि यसतर्फ अघि बढ्ने आधारमा समझदारी बन्यो ।

कम्युनिस्टहरू सिद्धान्तमा ठूलो बहस गर्छन्, एमाले र माओवादीबीच धेरै सैद्धान्तिक विमति थिए, अहिले दुई पार्टीको सिद्धान्तमा एकरूपता आइसकेको हो ?

हिजो विचार मिल्दैनथ्यो, बाटो मिल्दैनथ्यो । हिंसात्मक संघर्षको बाटोलाई माओवादीले अनिवार्य ठानेको थियो । हामी त्यसलाई मान्दैनथ्यौं । विचार नमिल्दा अलग थियौं । नमिलेका कारण तिक्तताका कुरा पनि भए तर अब हामी दुवै त्यो विचारमा छैनांै । त्यसैले अब हामी अलगअलग बस्नुपर्ने औचित्य रहेन । प्रतिस्पर्धाको राजनीतिमा श्रेष्ठता हासिल गर्ने हो र त्यसका बलमा राज्य सञ्चालन गर्ने हो । प्रगतिशील परिवर्तन गर्ने हो । त्यसैले हामी अब अलगअलग रहनुपर्ने अवस्थामा छैनौं ।

माओवादी द्वन्द्वका क्रममा भएका सबै घटनाको स्वामित्व लिएर जान अब एमाले पनि तयार भएको हो ?

हामी वर्तमानमा उभिएर अघि बढ्न चाहन्छौं, अतीतका कुरा समीक्षाका लागि छोडिदिनुपर्छ । ती समीक्षा गर्दा हिजो एमालेले केके गरेको थियो, त्यसबारे एमालेले नै जवाफदेहिता लिनुपर्छ । हिजो छुट्टै हुँदा माओवादीले केके गर्‍यो, त्यसको जिम्मेवारी माओवादी पक्षले नै लिनुपर्छ तर हामी भविष्यमुखी हुनुपर्छ । हिजो कसले के गरेको थियो, कसो गरेको थियो भनेर रस्साकस्सी गर्ने होइन । विगतका कुराबाट शिक्षा लिएर अघि बढ्नुपर्छ तर अतीतमुखी हुनु हँुदैन । विगतका धेरै कुरा कोट्याएर जानु हुँ‘दैन । विगतका कतिपय कुरामा आग्रह नराखी एउटा उचाइमा उभिएर लेखाजोखा गर्नुपर्छ ।

तपाईंहरूको एकता प्रक्रिया कति अघिबाट सुरु भएको थियो ?

माओवादी शान्ति प्रक्रियामा आएपछि हामीले पटकपटक प्रयास गरेका थियौं । पटकपटक द्विपक्षीय कुरा गर्‍यौं । एकताका त पार्टी एकताका लागि केके गर्ने भनेर तयारी गर्न संयुक्त कार्यदल पनि बनेको थियो । त्यसले काम पनि गरेको थियो तर त्यसबेला सम्भव भएन । अनेक पटक प्रयास भए । कतिपय व्यक्तिलाई अचानक भएजस्तो लाग्छ तर त्यस्तो होइन, एकताको कुरा चलिरहेकै थियो । त्यो प्रक्रियाले एउटा रूप लिन पाएको थिएन । अहिले परिस्थितिले च्याप्दै ल्यायो र दुवैलाई एकता आवश्यक छ भनेर बोध भएपछि यसतर्फ अघि बढ्ने आधारमा समझदारी बन्यो ।

Facebook Comments